यदि मैले अर्की युवतीसँग धेरै यौनसम्पर्क गरें भने के मेरो शुक्रकीट सकिनेछ ? के यसले मेरो विवाहित जीवनमा (श्रीमतीलाई गर्भवती बनाउन) प्रभाव पार्छ ? मैले २० वर्षको उमेरदेखि यौनसम्पर्क गर्दै आएको छु र अहिले म २४ वर्षको भएँ ।

शुक्रकीट कसरी बन्छ ?
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले शुक्रकीटको उत्पादन कसरी हुन्छ भन्ने विषयमा छोटो चर्चा गरौं । शुक्रकीट पुरुषको अण्डकोषमा बन्छ । अण्डकोषभरि नै गुजमुज्ज परेका नलिकाहरू हुन्छन् जसलाई Seminiferous Tubules भनिन्छ । यही नलीमा यात्रा गर्दै शुक्रकीटको उत्पादन प्रक्रिया पूरा हुन्छ । यी Seminiferous Tubules मा Sertoli cell तथा sperm stem cells (Spermatogonia) हुन्छन् । यी नलिकाको बाहिर तथा नलिकाको बीच–बीचमा पुरुष हार्मोन testosterone उत्पादन गर्ने Leydig cells हुन्छन् । Leydig cell बाट उत्पादन गरिएको testosterone हार्मोनको प्रभावमा Sertoli cell को सहयोगमा शुक्रकीटको उत्पादन सञ्चालित हुन्छ । Spermatogonia देखि शुक्रकीट बन्ने क्रम पूरा हुन यस्तै ७० दिनजति लाग्छ । अण्डकोषभित्र रहेका नलिकाहरूमा यो निरन्तर रूपमा चलिरहेको हुन्छ ।

यसरी शुक्रकीट बन्ने कार्य पूरा भए पनि यो अझै परिपक्व भने भैसकेको हुँदैन । यी शुक्रकीट अझै पौडन सक्ने (गतिशील) हुने स्थितिमा पुगिसकेका हुँदैनन् । अण्डकोषबाट अब शुक्रकीट अण्डकोषमै टाँसिएको अर्को अङ्ग Epididymis मा आउँछन् र यसका नलिकामा यात्रा गर्ने क्रममा यसको कोष झिल्लीमा भएका कतिपय प्रोटिन हटाइन्छन् भने कतिपय थपिन्छन्, जसले गर्दा यी पौडन मात्र होइन, महिलाको डिम्बमा टाँसिन अनि त्यसलाई छेड्न सक्ने हुन्छन् । यसरी परिपक्व भएको शुक्रकीट वीर्य स्खलन हुँदा बाहिर आउन तयार अवस्थामा हुन्छन् ।

तपाईलाई थाहै होला, यिनै शुक्रकीट नै वीर्यमा मिसिन्छन् र वीर्य स्खलनका बेला त्यसका साथसाथै बाहिर निस्कन्छन् ।

शुक्रकीट सकिन्छ ?
शुक्रकीट बन्ने प्रक्रियाबाट नै बुझिसक्नुभयो होला कि पुरुषमा निरन्तर रूपमा शुक्रकीट बन्छन् । वीर्य स्खलन भयो भन्दैमा यो सकिने होइन । वीर्य स्खनलमा शुक्रकीट निस्कने क्रमसँगै यो बन्ने क्रम पनि निरन्तर रूपमा चलिरहन्छ । सामान्यत: एकपटकको वीर्य स्खलनमा यस्तै ३ करोडजति शुक्रकीट निस्कन्छन् । वयस्क पुरुषमा सामान्यत: एक दिनमा यस्तै १० करोड शुक्रकीट उत्पादन हुन्छन् । Epididymis मा भएको अम्लीय वातावरणमा यो निष्क्रिय अवस्थामा हुन्छ ।

हस्तमैथुन गरेर होस् वा कुनै अर्कै युवतीसँग यौनसम्पर्क गरेर होस् वा श्रीमतीसँग यौनसम्पर्क गरेर वीर्य स्खलन गरेर होस्, वीर्य स्खलन गर्दा शुक्रकीट सकिँदैन ।

अर्की युवतीसँग यौनसम्पर्क राख्दा श्रीमतीलाई गर्भवती बनाउन सकिएला ?
एक पुरुषले कुनै एक महिलासँग यौनसम्पर्क गर्‍यो भन्दैमा अर्की महिलालाई गर्भवती बनाउन नसक्ने भन्ने होइन । एकभन्दा बढी महिलासँग यौनसम्पर्क भए ती महिलाहरू पनि गर्भवती हुन सक्छन् ।

त्यसैगरी एक महिलाले एकभन्दा बढी पुरुषसँग यौनसम्पर्क गरेर फरक–फरक पिताबाट सन्तान जन्माउन सक्छिन् । सामान्यत: महिलाको हकमा गर्भ रहेको अवस्थामा अर्को डिम्ब नै ननिस्कने भएकाले त्यति बेला यौनसम्पर्क भएर शुक्रकीट योनिमा आए पनि डिम्बसँग मिलन नहुने भएकाले गर्भ रहने स्थिति हुँदैन ।

तपाईंले अर्की कुनै युवतीसँग यौनसम्पर्क गर्दैमा तपाईंकी भावी श्रीमती गर्भवती नहुने पनि होइन । त्यसैगरी श्रीमतीसँग यौनसम्पर्क गरेका कारण अर्की कुनै युवती वा महिला गर्भवती नहुने पनि होइन ।
धेरै जनासँग असुरक्षित यौनसम्पर्क हुँदा यौनरोग लाग्न सक्छ, यसको समयमै उपचार नहुँदा भने प्रजनन क्षमतामा ह्रास आउन सक्छ । उदाहरणका लागि पुरुषमा स्वस्थ शुक्रकीटको उत्पादन नहुने स्थिति हुन सक्छ भने महिलामा पनि प्रजजन अङ्गमा विभिन्न खराबी उत्पन्न हुन सक्छ । यस्तो स्थितिमा भने गर्भ रहन सजिलो हुँदैन ।

विवाहित जीवनमा असर
प्राय: सबैजसो व्यक्तिले आफ्नी श्रीमती वा श्रीमान्ले अर्को व्यक्तिसँग यौनसम्पर्क नराखेको होस् भन्ने चाहना राखेका हुन्छन् । तपार्इंले अहिले अर्की युवतीसँग राखेको सम्बन्ध तपाईंकी श्रीमतीले थाहा पाउने स्थिति हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण छ । यस्ता कुरामा उहाँ कति उदार वा संकुचित भएर प्रस्तुत हुनुहुनेछ भन्ने कुराले तपार्इंको वैवाहिक सम्बन्धमा के–कस्तो प्रभाव पर्छ भन्ने कुरा भर पर्छ ।

विगतको तपार्इंको सम्बन्धले अहिले आफ्नो सम्बन्धलाई असर नपार्ने सोचमा रहनुभए खासै फरक नपर्ला, तर तपार्इंको वैवाहिक सम्बन्ध नै अघि नबढ्ने स्थिति सिर्जना हुन सक्छ । रिसराग रहे पनि यौनसम्पर्क पनि हुने स्थितिमा गर्भ रहन सक्ने भयो, तर यौनसम्पर्क नै नहुने स्थिति आयो भने गर्भवती हुने स्थिति पनि नरहन सक्छ ।